जिन्दगी भनेको भोगाइ, सिकाइ र गराइको त्रिवेणी हो

दर्शन

मलाई लाग्छ, जिन्दगी भनेको भोगाइ, सिकाइ र गराइको त्रिवेणी हो । मलाई आफ्नो जिन्दगीको भोगाइले धेरै कुरा सिकायो । सिकेको कुराले केही गरायो । म जन्मँदा आँखा देख्न सक्थें । एउटा सामान्य परिवारमा जन्मिएँ । सामान्य वातावरणमा सामान्य जीवनयापन गरिरहेकी थिएँ । १६ वर्षको उमेरमा चिकित्सकको लापरबाहीबाट आँखाको ज्योति गुमाउन पुगें । मेरो जिन्दगीमा आइपरेको यो भिन्न अवस्थाले मलाई धेरै कुरा सिकायो । जुन दिनदेखि मैले आँखा देख्न छाडें, त्यही दिनदेखि आफ्नो जिन्दगीलाई देख्न र बुझ्न थालें । १६ वर्षको उमेर । कलकलाउँदो उमेर । सपनाको उमेर । केही गरौं भन्ने उमेर । आफूलाई एकदमै फराकिलो महसूस गर्ने उमेरमा चाहिं समाजले यसरी मेरो जिन्दगीको व्याख्या गरिदिए, ‘तिम्रो जिन्दगी सकियो । अन्धकार भयो । दुःखमय भयो ।’ तर, समाजले जे भन्यो त्यो कुरा मलाई साँचो लागेन ।

आँखा देख्दा होस् वा नदेख्दा, मभित्र त उही सृष्टि छ । हिजोको सृष्टि र आजको सृष्टि उही हो । तर, समाजले किन फरक व्याख्या गरिरहेको छ ? समाजले मप्रति जुन व्याख्या गरिरहेको छ, त्यसलाई गलत सावित गर्ने कर्तव्य मेरो हो । र, म आफ्नो जिन्दगीलाई आफ्नै व्याख्या बनाउँछु । म आफूले आफैंलाई माया र विश्वास गरेर अगाडि बढ्छु । यही दृढता लिएर मैले आफ्नो अध्ययनलाई अगाडि बढाउँदै गएँ । जबकि विद्यमान शिक्षा म जस्ता दृष्टिविहीनका लागि थिएन । कक्षा कोठाको अभ्यास, शिक्षक र कापी, परीक्षा प्रणाली हाम्रो लागि थिएन । तर, मैले आफूलाई त्यही अनुकूल बनाउँदै लगें । पढाइमा अपेक्षाकृत राम्रै सफलता मिल्यो पनि । दृष्टिविहीन भएको कारण मेरा लागि कतिपय क्याम्पसको ढोका बन्द थियो । जब एसएलसी सिध्याएर म उच्च शिक्षाको लागि कलेज चहार्दै थिएँ, त्यसबेला धेरैजसो कलेजले मलाई भर्ना लिन मानेनन् । तर, संयोगले जुन कलेजमा म पढ्न पुगें त्यहींबाट प्रमाणपत्र तहमा त्रिविको गोल्ड मेडल हासिल गरें । यसैगरी स्नातकमा पनि गोल्ड मेडल पाएँ । राष्ट्रपतिको हातबाट पुरस्कृत भएँ । स्नातकोत्तरका लागि म युरोपका चार वटा मुलुक पुगें । नर्वे, फ्रान्स, हंगेरी र बेलायत गएर ज्वाइन्ड मास्टर्स डिग्री पनि गरें । अध्ययन सिध्याएर नेपाल फर्किएपछि आफू जस्तै दृष्टिविहीन भएका साथीहरूका लागि केही गर्नुपर्छ भनी अठोट लिएँ । जसरी दृष्टिविहीन हुँदा र नहुँदाको दूरी मैले महसूस गरें, त्यो दूरी मेटाउनका लागि आफ्नो तर्फबाट जे सक्छु, जति सक्छु त्यस अनुरूप कदम चाल्नुपर्छ भनेर मैले ‘ब्लाइन्ड रक्स’ स्थापना गरें ।

यसअन्तर्गत म आफूजस्तै शारीरिक रूपले अशक्त भएका साथीभाइहरूमाझ पुगें, सशक्तीकरणको मुद्दालाई लिएर । देशका कुनाकाप्चा पुगें । पूर्व पश्चिम पुगें । देश–विदेश पुगें । कहिले भौतिक सामग्री त कहिले प्रेरणादायी कुराहरू बोकेर म अनगिन्ती पाइला हिंडें । सामान्य अवस्था हुँदो हो त म यति धेरै दृढ, तत्पर र लगनशील नहुन पनि सक्थें । किनभने त्यस अवस्थामा मसँग चुनौतीको पहाड नहुन सक्थ्यो । जब चुनौतीको पहाड हुँदैनथ्यो, त्यसलाई छिचोल्ने संकल्प नहुन सक्थ्यो । तर, दुवै दृष्टि गुमाएपछि मेरो सामुन्ने चुनौती र अप्ठ्याराहरूको चाङ लाग्यो । निर्मम क्षणहरूसँग मैले जुध्नुपर्ने भयो । तब म दृढतापूर्वक अगाडि बढें । अटुट रूपमा । खासमा भन्ने हो भने समस्याले मलाई आफ्नै जीवनको व्याकरण बदल्न घचघच्यायो । समस्याले लखेटेरै मलाई संघर्ष गर्न सिकयो । समस्याले लखेटेरै मलाई बाँच्ने कला सिकाइदियो । समस्याले लखेटेरै मलाई आफ्नो पहिचान बनाउन सहयोग गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *